१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्ला हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै मानव जीवनको संरक्षणलाई राज्य र समाजको सर्वोच्च प्राथमिकता बनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विगतदेखि वर्तमानसम्म भएका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले हरेक समस्याको समाधान गोली चलाएर, मानिस मारेर वा देश जलाएर खोज्न नहुने बताएका छन्।
भण्डारीले विगतलाई सरापेर वर्तमान सुरक्षित नहुने उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
साथै, अन्य देशका अनुभवबाट पनि सिक्नुपर्ने भन्दै नेपालमा मानव जीवनलाई अझ सस्तो बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै हिंसाको सट्टा संवाद, विवेक र जिम्मेवारीपूर्ण व्यवहारमार्फत समस्या समाधानको बाटो रोज्न अपिल गरेका छन्।
सुनसरीमा भएको घटनालाई लिएर उनले सरकार लगाएत सबैलाई यस्तो सुझाव दिएका हुन् ।





