बाग्मती

आज बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम, शुन्य डिग्रिमा झर्यो

१६ पुष, काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको जाडो सुरु भएसम्मकै कम मापन गरिएको छ । काठमाडौंको आज तापक्रम शून्य दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकाले जानकारी दिएको छ ।

यसअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बिहान जुम्लाको तापक्रम माइनस ८ दशमलव ५ डिग्री मापन गरिएको थियो । यस्तै दिपायलको शून्य दशमलव ३ डिग्री सेल्सियस, विरेन्द्रनगरको १ दशमलव ९ डिग्री सेल्सियस, ताप्लेजुङको २ दशमलव ७ डिग्री सेल्सियस, धनगढी र नेपालगन्जको ४ डिग्री सेल्सियस, पोखराको ४ दशमलव ४ डिग्री सेल्सियस र दाङ घोराहीको ४ दमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।

राति आकाश खुलेकाले बिहान धेरैको ठाउँको तापक्रममा गिरावट आएको मौसमविद्ले बताएका छन् । यसैबीच शनिबार लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले शनिबार दिउँसो लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी पर्ने र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने गण्डकी र प्रदेश १ का पहाडी भेगमा आंशिक बदली हुनेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।

यस्तै शनिबार राति देशभर आंशिक देखि सामान्य बदली भई सुदुरपश्चिम प्रदेशका १–२ ठाउँमा हल्का पानी पर्ने संभावना छ । अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।