बाग्मती

पाका पत्रकार नेपालको ७५ वर्षका उमेरमा निधन

१७ पुस, काठमाडौंँ /  पाका पत्रकार चक्रपाणि नेपालको ७५ वर्षका उमेरमा आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रक्तनलीसम्बन्धी रोग र मधुमेहबाट निधन भएको छ । सङ्खुवासभाको आँखीभुइँ–५ मा विसं २००४ मा जन्मनुभएका नेपाल केही समयअघिसम्म पनि ‘नेपालीपत्र’ साप्ताहिकमा स्तम्भकार थिए ।
युवाकालमा धेरै लामो समय नेपालको भूमिगत वामपन्थी आन्दोलनसँंग जोडिएर पत्रकारितामा हामफाल्नुभएका नेपाल पछिल्लो समय पनि वाम आन्दोलनले सही दिशा लिइछाड्नेमा आशावादी हुनुहुन्थ्यो । । उहाँले कहिल्यै नेकपाको मूल धारभन्दा आफूलाई टाढा राख्ने कोशिश गरेको भने देखिएन ।
उहाँले २०७२ मा प्रेस काउन्सिल नेपालबाट प्रेस काउन्सिल पत्रकारिता पुरस्कार र नेपाल पत्रकार महासङ्घबाट २०७३ प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो । उहाँका निकट मित्र कवि तथा पत्रकार रेशम विरहीका अनुसार नेपालले २०४७ सालअघि शिक्षक तथा तत्कालीन नेकपा ९माले०मा सङ्गठित भएर धादिङ जिल्लामा काम गर्नुभएको थियो । उहाँ नेपालका कुनाकाप्चा पुगेर नेपाली समाजका दुःखसुखबारे प्रत्यक्ष जानकारी लिएर रिपोर्ट तयार गर्नुहुन्थ्यो । यस क्रममा उहाँले नेपालका दुर्गम पहाडी र हिमाली जिल्लाको भ्रमण गर्नुभएको थियो ।
उहाँले रेशम विरहीका सम्पादनमा ललितपुरबाट २०४८ सालमा प्रकाशित ‘अभिनन्दन’ दैनिकमा रिपोर्टिङ गर्नुभएको थियो । त्यसपछि ५० सालको आसपासमा विरहीकै सम्पादनमा काठमाडौंँबाट प्रकाशित ‘समानान्तर’ दैनिकमा पनि उहाँले काम गर्नुभयो । खोजी पत्रकारितामा उहाँको विशेष चासो थियो । उहाँले आफूले गरेका रिपोर्टिङ र लेखेका स्तम्भ छनोट गरेर २०७४ मा ‘नागबेली’ नामक पुस्तक प्रकाशन गर्नुभएको थियो ।
विरहीका अनुसार केही वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वास्थ्योपचारका लागि प्रधानमन्त्री कोषबाट चार लाख सहायता दिनुभएको थियो ।