बाग्मती

लामो समयको प्रयासपछि, चेपाङ गाउँमा सडक

२० पुस, मुग्लिन /  चितवनको ईच्छाकामना–२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिन्थे । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी भएको हुन् । खुशी हुदैँ उनले भने,“अब घन्टौँसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ ।”
लामो समयको प्रयासपछि गाउँपालिकाको विकट स्थानमा रहेको चेपाङबस्ती हपनी गाउँबाट शक्तिखोर–फिस्लिङ सडकखण्ड अन्तर्गत सोही वडाको वर्लेङमा मोटरबाटो जोडिएपछि गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आइतबार उद्घाटन गरे ।
अध्यक्ष गुरुङले लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम पूरा भएको बताए । उनले भने, “लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ, यहाँको बासिन्दाले भोग्नुपरेको एउटा समस्याको सामाधान भएको छ ।” उनले गाउँमा सडक पुगेसँगै आयआर्जनका लागि कृषिकर्मममा ध्यान दिन स्थानीयवासीलाई आग्रह गरे । अधिकांश चेपाङ समुदाय रहेको यस भेगमा गाउँपालिकाले व्यवसायी कृषिका लागि यसअघि उन्नत जातको बीउबिजन वितरणका साथै र तालीम प्रदान गरेको भन्दै थप सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
वडा नं २ मा बिजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको समेत उनले बताए। वडाध्यक्ष पञ्चबहादुर चेपाङले अब यहाँका जनताले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सहज हुने बताए ।
वडा नं २ को धेरैजसो टोलटोलमा सडक सञ्जालले जोडिसकेको उनको भनाइ थियो । सडक जोडिएसँगै माथिल्लो काउले, भोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ । वडाले चेपाङ समुदायको लागि आयआर्जनका कार्यक्रम ल्याउने बताइएको छ ।
गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरी एक करोडको लगानीमा उक्त सडकको नयाँ ट्र्याक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर–फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरी बाँकी सडक निर्माण गर्नुपर्ने उनले बताए ।
अहिले एशियाली विकास बैँक एडिबीको अनुदान सहयोगमा शक्तिखोर–फिस्लिङ सडकको कालोपत्रसहित स्तरोन्नतिको काम भइरहेको छ । चितवनको कालिका नगरपालिकाबाट इच्छाकामनाको फिस्लिङस्थित पृथ्वीराजमार्गमा जोडिएको उक्त सडकबाट ईच्छाकामनाको विकट वडा १, २, ३ का स्थानीय लाभान्वित हुनेछन् ।