चितवन, २२ पुस । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो ।
रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याएका हुन् । मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उहाँलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उनि स्वदेशमै केही गर्ने अठोटका साथ फर्कएका थिए।
पौडेलले भने, “फर्कनासाथ मैले पशुपालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फार्म खोलेँ । यससँगै होटल व्यवसाय पनि शुरु गरेँ ।” रामग्राममा दुई कठ्ठा जमिन खरिद गरेर दुई करोडभन्दा बढीको लगानीमा गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज उनले शुरु गरे । निरन्तरको मेहेनतसँगै उहाँले त्यहाँबाट राम्रो सफलता हात पारे । पौडेलले भने, “वार्षिक २० लाख हाराहारी आम्दानी हुने गर्छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उनले गत साताबाट नारायणी किनार गैँडाकोटमा गुरु ग्रिनरी फुड पार्क शुरु गरेका छन् ।
गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उनको होटल फरक शैलीमा निर्माण गरिएको छ । फरक–फरक कटेजहरुसँगै बगरमाथि बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर रु ४५ लाख लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्यभन्दा पृथक रहेको छ । माटाका भाँडामा खसीको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उनको भनाइ छ । यससँगै लोकल कुखुरा, हाँसको स्वाद पनि ग्राहकलाई दिँदै आइएको छ ।
श्रीमती सुजता र भाइ युवराजसँगै सिङ्गो परिवार यसै पेशामा जुटेको छ । परिवारबाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उनी भन्रछन् , “अब हेटौंडामा अर्को होटल खोल्ने योजनामा छु ।” बेरोजगार भएँ भन्नेहरुका लागि मात्र होइन विदेशमा रहेका नेपालीका लागि पनि उदाहरणीय बनेका पौडेल निरन्तर मेहेनत गर्न सकेमा यहीँ धेरै गर्न सकिन्छ भन्छन् । यस पेशामा मिठो बोल्ने र इमान्दार हुनसकेमा सफलता मिल्ने उनको अनुभव छ ।
देशैभर व्यवसाय विस्तार गर्ने उनको सोच छ । पौडेलले भने, “एकपटक मकहाँ छिर्ने ग्राहकलाई अर्कोपटक आउने म आफैँ बनाउन सक्छु ।” हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनुको कारण भएको उनका शुभेच्छुकहरु बताउँछन् ।