बाग्मती

सुन्दरीजल र मीनभवनमा वाग्मती सफाइ महाअभियानको विशेष कार्यक्रम

२२ पुस, काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम सात स्थानमा जनचेतनासहित सुन्दरीजल र मीनभवनमा विशेष गरी मनाइने भएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नाराका साथ विविध कार्यक्रम आयोजना गरी ४०० औँ हप्ता मनाइने जनाइएको छ । विसं २०७० जेठ ५ गते पशुपति क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु भएको थियो ।

महाअभियान ४०० औँ हप्ता प्रवेशका अवसरमा साँगाभञ्ज्याङ, नागढुङ्गा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका कीर्तिपुर, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन र सुन्दरीजलमा समेत जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्मेलनमा महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले स्वयंसेवी कामका रुपमा वाग्मती सफाइलाई अघि बढाइएको बताए । महाअभियान शुरु हुँदा मुख्यसचिवको भूमिकामा रहेको पौडेलले प्रशासनिक क्षेत्रको उच्च पदलाई व्यक्तिगत स्वार्थका लागि नभई उपत्यकाको सभ्यताको स्रोत सफा बनाउने अभियानमा लगाएको बताए ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले भूमि समस्या समाधान गर्न गठन भएको आयोगसँग समन्वय गरी उपत्यकाका नदी किनारमा अव्यवस्थित बसोवास गरिरहेकालाई व्यवस्थित गरिने बताए । नदी किनारमा मापदण्डविपरीत बसेकालाई ठाउँ छोड्न समितिले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ ।

वाग्मतीको मुहानस्थल गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकामा जग्गा एकीकरण भइरहेकाले त्यही कार्यक्रममा ढल व्यवस्थापन योजनालाई समेत समावेश गर्न नगरपालिकासँग समन्वयात्मक बैठक भइरहेको जानकारी पनि उनले दिए।

अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख नवराज प्याकुरेलले सफाइसम्बन्धी पाठ्यक्रम विद्यालय र महाविद्यालयको पाठ्यक्रममा समेत राखेर चेतना जगाउन पहल गरिनुपर्नेमा जोड दिए । अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले पुस २५ गते ४०० औँ हप्ताको विशेष कार्यक्रम सुन्दरीजल र मीनभवनमा गरिने जानकारी दिए ।

सुन्दरीजलमा माछाका भुरासमेत छाडिने समितिले जनाएको छ । त्यसअघि उपत्यकाका सात स्थानमा पर्चा, पम्प्लेटसहित चेतनामूलक जानकारी गराइने कार्यक्रम रहेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यका बाहिरका प्रमुख शहर एवं केही नदीमासमेत सफाइ अभियान शुरु भएको छ । हाल देशभर गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान जारी रहेको महाअभियानले जनाएको छ । उपत्यकाका सबै सफाइ अभियानलाई महाअभियानको ४०० औँ हप्ताको कार्यक्रममा चेतनामूलक जागरण गर्न सहभागी गराइने भएको छ ।