बाग्मती

एकै दिन चार स्वास्थ्य संस्थाको भवन शिलान्यास

२० माघ, टिस्टुङ / मकवानपुरमा आज एक एकैदिन चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ । विसं २०७२ को विनासकारी भूकम्पका कारण क्षति भएका स्वास्थ्य संस्थाका भवनमध्ये जिल्लाको चार वटा स्थानीय तहका स्वास्थ्यचौकी भवन पुनर्निर्माण गर्न लागिएको हो ।
मकवानपुरको थाहा नगरपालिका–११ स्थित टिष्टुङ स्वास्थ्यचौकीको १० कोठे, राक्सिराङ गाउँपालिका–८ स्थित खैराङ स्वास्थ्यचौकीको २२ कोठे, बकैया गाउँपालिका–२ स्थित धिँयाल स्वास्थ्यचौकीको नौ कोठे र भीमफेदी गाउँपालिका–३ स्थित निबुवाटार स्वास्थ्यचौकीको नौ कोठे भवनको शिलान्यास गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इञ्जिनीयर रविन पाठकले जानकारी दिए ।
चारवटै स्वास्थ्यचौकीको भवन स्थानीय सरकारका प्रमुखले शिलान्यास गरेका हुन्। टिष्टुङ स्वास्थ्यचौकीको भवन थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङ स्वास्थ्यचौकीको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धिँयाल स्वास्थ्यचौकीको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटार स्वास्थ्यचौकी भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन मार्फत ठेक्का प्रक्रियाबाट स्वास्थ्यचौकी भवन निर्माण गर्न लागिएको हो । टिष्टुङ र खैराङ स्वास्थ्यचौकी भवन १८ महिनाभित्र तथा धिँयाल र निबुवाटार स्वास्थ्यचौकीको भवन १५ महिनाभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । एकाइका अनुसार ४ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि रु १० करोड ४९ लाख ८२ हजार ८२१ मा ठेक्का भएको जिल्ला भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन ले जनाएको छ ।
यसअघि कार्यालयले मकवानपुरमा पाँच वटा स्वास्थ्यचौकीको भवन पुनर्निर्माणको लागि ठेक्का सम्झौता गरेर निर्माण कार्य गरिरहेको छ । पहिलो चरणमा निर्माण शुरु गरिएका स्वास्थ्य संस्थाका भवनमध्ये वाग्मती गाउँपालिकाको बेतिनी स्वास्थ्यचौकी भवन सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । मकवानपुरमा नौ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि कूल रु २३ करोड प्राप्त भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका प्रमुख तुल्सीराम खर्बुजाले बताए ।