बाग्मती

‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण

२ फागुन, टिस्टुङ । माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो ।

स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरे । भूकम्पपश्चात् भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने कार्यक्रमअनुसार कोषले मकवानपुरको बज्रवाराहीमा सामुदायिक भवन निर्माण गरेको हो ।

भूकम्पजस्तो विपत्तिको बेला समुदायका व्यक्तिहरुलाई आश्रयका लागिसमेत सहज बनाउन भवन निर्माण गरेको कोषका अध्यक्ष सुमार्गीले बताए । उनले थाहा आन्दोलनका प्रणेता स्व रूपचन्द्र विष्टको स्मरण गर्दै भवनको नाम थाहा र विकाससँग जोडेर राखिएको उल्लेख गरे । भवन निर्माण सम्पन्न भएको झण्डै तीन वर्ष भए पनि उक्त भवन औपचारिकरूपमा हस्तान्तरण भएको थिएन । समयसमयमा सम्मेलन, भेला तथा सामूहिक कार्यक्रमका लागि उपयोग हुँदै आएको उक्त भवनमा पछिल्लो समय थाहा नगरपालिकाले क्वारेन्टिन स्थापना गरेको छ ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख विष्टले ‘सामुदायिक थाहा विकास भवन’को संरक्षणका लागि नगरपालिकाले आवश्यकताअनुसार योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा राष्ट्रियसभा सदस्य तथा रुपचन्द्र स्मारक समितिका केन्द्रीय अध्यक्ष रामनारायण बिंडारीले कोषको कामको प्रशंसा गरे ।