७ फागुन, रसुवा / प्रजातन्त्र दिवशका उपलक्ष्यमा सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा धुञ्चे बजारमा आज भएको सरसफाइबाट करिब दुई टन फोहरमैला सङ्कलन भएको छ ।
गाउँदेखि शहरसम्म निरन्तर रूपमा सरसफाइको जागरण ल्याई सामाजिक वातावरण सन्तुलन पार्ने उद्देश्यले गरिएको सरसफाइ कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले जानकारी दिए ।
सडकदेखि कुनाकाप्चासम्म यत्रतत्र छरिएका सबै प्रकारका फोहर सङ्कलन गर्न स्थानीय जनप्रतिनिधिको साथै सुरक्षा अङ्ग एवं कर्मचारीको समेत सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
सरसफाइले समुदायमाझ निरन्तर सफाइ गर्नुपर्ने सन्देश गएको र भाबी दिनमा धार्मिक एवं पर्यटकीय क्षेत्र रसुवाको क्षेत्रमा सुन्दरता आउने सरसफाइका सहभागीहरूले बताएका छन् ।
चार कैदीबन्दी मुक्त
सोही अवसरमा रसुवा कारागारबाट चार कैदीबन्दी रिहा भएका छन् । यसरी रिहा हुनेमा सवारी ज्यान दोषी प्रमाणित भएका वीरबहादुर सुनुवार, कर्तव्य ज्यानसम्बन्धी मुद्दाका देवावाङ्दी तामाङ, प्रसाद नेकोर तामाङ एवं सङ्गम लामा रहेका कारागारका प्रमुख नरबहादुर थापाले जानकारी दिए ।
जेलभित्र १२२ कैदी बन्दी रहेका र तीमध्ये ११२ कर्तव्य ज्यान, जबरजस्ती करणी, जीउमास्ने बेच्ने, चोरी, राजश्व चुहावट, ठगी, बैंक तथा विद्युतीय कारोबारमा संलग्न व्यक्ति रहेका कारागार प्रशासनले जनाएको छ । दश जनाभने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका बताइएको छ ।