समाचार

माओवादी केन्द्रले गर्‍यो काँग्रेससहित अन्य दलहरुसँग छलफल गर्ने निर्णय

२५ फागुन, काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो ।
बैठकले नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “मुख्यतः प्रमुख प्रतिपक्षी र जनता समाजवादी पार्टीसँग संसद् सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल गर्ने निर्णय भएको छ”, उनले भने ।
बैठकले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न यही फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र आगामी चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने सन्दर्भमा कुनै निष्कर्षमा नपुगिएको प्रवक्ता श्रेष्ठले बताए । ओली माओवादी केन्द्रका समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा पूर्ववतावस्थामा ब्यूँतिएको फैसला गरेको थियो । सोही फैसलाका आधारमा आज माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी स्थायी कमिटी सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट सहभागी भएका थिएनन् ।