बाग्मती

सिलिचोङ याफूमा ६३ खानेपानीका धारा हस्तान्तरण

२५ फागुन, काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफूवासीलाई खानेपानीका धारा हस्तान्तरण गरिएको छ । दातृ संस्थाको सहयोगमा ६३ खानेपानी धारा हस्तान्तरण गरिएको हो ।

घरघरमै खानेपानीको धारा आएपछि घण्टौं लगाएर पानी बोक्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासी खुशी भएका छन् । सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिले निर्माण गरेको खानेपानी स्थानीयवासीलाई गत शनिबार हस्तान्तरण गरिएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोखार्ज पोखरा र स्थानीय उपभोक्ताको ६० लाख ९३ हजार २२२ रुपियाँ ८७ पैसाको कूल लागतमा खानेपानी निर्माण भएको हो । सिलिचोङ गाउँपालिका–५ मा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलका ६३ घरमा खानेपानी धारा पुगेको छ ।

कादुरीले ४९ लाख ६८ हजार ७२२ रुपैयाँ ८७ पैसा र उपभोक्ताको ११ लाख २४ हजार ५०० बराबरको श्रमदानबाट यो आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोर्खाज पोखरा खानेपानी आयोजना २०७६ मङ्सिर ११ गतेबाट काम शुरु गरेको थियो । घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्न जानुपर्ने बाध्यता हटेको याफुका स्थानीयवासी खेगेन्द्र राईले जानकारी दिए ।

सिम्लेमा आयोजित हस्तान्तरण कार्यक्रममा सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङ र वडाध्यक्ष ईश्वर कुलुङलाई परियोजना प्रबन्धक देवान राईले सिम्ले पिसुवा खानेपानी आयोजना हस्तान्तरण गरेको हो । खानेपानी योजनामा दुई वटा इन्टेक, कलेक्सन च्याम्बर दुई वटा, रिजर्भ ट्याङ्की चारवटा, डिष्ट्रियुसन च्याम्बर एक मिटर जडित धारा ५९ वटा र चार हजार ८८२ मिटर लम्बाइमा पाइप लाइन रहेको छ । उनन्साठी घर उपभोक्ता धारा, बरुण माविमा दुई धारा, कृषि सहकारीमा एक धारा र सामुदायिक वनको भवनमा एक धारा गरी जम्मा ६३ धारा निर्माण गरी हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङले जानकारी दिए ।