समाचार

एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण

२५ फागुन, काठमाडौँ / मानव अधिकारका लागि महिला, एकल महिला समूहले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखीकरण कक्ष सञ्चालनमा ल्याएको छ ।
समूहले विगतमा विभिन्न स्थानमा गरेका कार्यक्रम तथा विभिन्न समयमा एकल महिलाको अधिकार र सामाजिक सुरक्षाका विषयमा गरेका प्रयासलाई अभिलेखीकरण गरिएको छ । बुढानिलकण्ठस्थित समूहको कार्यालय परिसरमा मङ्गलबार स्थापना गरिएको उक्त कक्षमा एकल महिलाको सवलीकरण तथा सशक्तिकरणसँग जोडिएका पक्षलाई समेटेर फोटो र सन्देशमूलक सामग्री राखिएका छन् । संस्थाले गरेका उपलब्धीलाई संस्थागत विश्लेषण, देशका सबै जिल्लामा विस्तार गरिएका सञ्जालका साथै प्रादेशिक संरचनामा समूह सङ्ख्यालगायत राखिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री विमला विकले कक्षको अवलोकन गरी त्यहा राखिएका अभिलेखबारे जानकारी लिए । उनले संस्थाको संरक्षण तथा नेतृत्वमा एकल महिलाले गरेका प्रगतीको सराहना गरे । स्थानीय महिलाले उत्पादन गरेका सामग्रीको समेत प्रदर्शनी गरिएको थियो । सो समूहका राजीन रायमाझीले हालसम्म संस्थामा एक लाखभन्दा बढी एकल महिला आवद्ध भइसकेको जानकारी दिए ।