५ चैत, चरीकोट । दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाइ जानकारी दिए।
नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उनले बताए। भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का नागरिकलाई लक्षित गरी आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले ७५० मिटर कालोपत्र र २५० मिटर ढलानको काम भइरहेकोे नगरपालिकाले जनाएको छ ।
नगरपालिकामार्फत सडक पक्की बनाउने काम २०७८ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अमूल एण्ड स्नेहा कन्स्ट्रक्सन चरीकोटले निर्माणको जिम्मा लिएको छ । सो सडक खण्डमा कालोपत्रका लागि आवश्यक पूर्वधार जाली पर्खाल, मेसिनरी बाल, पक्की नाला, ह्युमपाइपसहितको कच्वे, सडक ढलानको सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख प्रवीण श्रेष्ठले बताए ।
समय अवधि भन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए । अन्य क्षेत्रबाट स्रोत नभएपछि नगरपालिका आफैले लगानी गरेर सडक कालोपत्र निर्माणको काम शुरु गरेको हो । कृषि उत्पादनको भण्डारको रुपमा चिनिने जिलुमा सडक कालोपत्र भएसँगै कृषकसमेत खुशी भएका छन् ।
उत्पादन भएका तरकारी तथा अन्य सामग्री सहज तरिकाले चरीकोट बजारसम्म लगेर व्यापार गर्नको लागि सहज हुने भएको कृषकले बताएका छन् ।