समाचार

एमालेको नेपाल समुहले आज स्थायी कमिटी सदस्यसंग छलफल गर्दै

१७ चैत्र, काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुहले आज स्थायी कमिटीका सदस्यहरुसंग छलफल गर्दै छ ।

एमालेका अध्यक्ष केपी शर्मँ ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई पार्टीबाट निलम्बन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्न गालेका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको नेता योगेश भट्टराईले बताएका छन् ।

ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको उनले बताएका छन् ।

बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ । नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए ।

ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् । उनिहरु आज मध्यान्ह १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् यद्यपी स्थान भने खुलाइएको छैन ।