१६ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनामै गर्नुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा बोल्दै नेता डा कोइरालाले निर्धारित समयमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्छ भन्नेमा आफू दृढ रहेको उल्लेख गरे । उनले भने, “यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापति र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्छ ।” नेता डा कोइरालाले वर्तमान सत्ता गठबन्धन निर्माण हुँदा भएको सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो भनी प्रश्न गरे ।
उनले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका वरिष्ठ नेताहरुलाई राख्नुपर्ने धारणा व्यक्त गर्दै गठबन्धनका नाममा आफ्नो बलियो सिट अरु पार्टीलाई किन अरुलाई दिइएको हो भनी जवाफ माग गरे । निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरेर अहिले अनुशासन कारवाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिन लागेको नेता डा कोइरालाले आरोप लगाए ।
पार्टी बलियो बनाउन रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपले उम्मेदवार बनेका कांग्रेस नेता कार्यकर्तालाई एकपटकलाई माफी दिनुपर्ने उनको भनाइ थियो । नेविसङ्घ, तरुण दल, महिला सङ्घको अहिलेको ठूलो समितिले अधिवेशन गर्न नसक्ने उल्लेख गर्दै नेता डा कोइरालाले पार्टीले जिम्मा लिएर अधिवेशन गराउनुपर्ने सुझाव दिए ।





