स्वास्थ्य

स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना

कृष्ण दवाडी, कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् ।पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुछ्रे गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित ११५ छन् । नौ वडा रहेको गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा मात्र ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गत वर्ष कोरोनाको पहिलो चरणमा यस गाउँपालिकामा एक/दुई जनामा मात्र सङ्क्रमण पुष्टि भएको थियो । शहर कोरोनाको ‘हटस्पट’ हुँदासमेत गाउँमा खासै सङ्क्रमण बढेको थिएन तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरले गाउँगाउँमा सङ्क्रमण बढेको छ । गत वैशाख १५ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू भएकामा निषेधाज्ञाको अवधिमा गाउँमा सङ्क्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

गाउँपालिकामा लक्षणसहितका सङ्क्रमित बढेसँगै अस्पतालमा उपचारको पहुँच अभिवृद्धि गर्नु र परीक्षणको दायरा बढाउनुु चुनौती रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । उनले भने , “गत वर्ष कोरोनाको सङ्क्रमण शहरमा बढी थियो, गाउँमा खासै प्रभाव परेको थिएन तर अहिले भने हामीलाई सङ्क्रमण फैलावट रोक्न ठूलो चुनौती थपिएको छ ।” लक्षण देखिएका बिरामीसमेत परीक्षणका लागि नआउने र स्वास्थ्य मापदण्डको पालना नगर्दा गाउँमा सङ्क्रमण बढेको आचार्य बताउनुहुन्छ । माछापुछ्रेको सार्दिखोला स्वास्थ्यचौकीमा पनि १० शय्याको आइसोलेशन सञ्चालनमा आएको छ ।

पोखरा महानगरपालिका र जिल्लाका अन्य चारवटा गाउँपालिकामा पनि सङ्क्रमण फैलिएपछि स्थानीय तहले आइसोलेशन सेन्टर निर्माण शुरु गरेका छन् । कोरोनाका बिरामीको आधारभूत उपचार गर्न अक्सिजनसहितको आइसोलेशन अस्पताल व्यवस्थापनमा स्थानीय सरकार जुटेका हुन् । कतिपय स्थानीय तहले नयाँ आइसोलेशन थप गर्दै गएका छन् भने विगतका आइसोलेशनकक्षहरूको क्षमता वृद्धि गर्न लागेका हुन् ।

माछापुछ्रेले वडा नं ८ स्थित भेँडाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १३ शय्याको अक्सिजनसहितको आइसोलेशन निर्माण शुरु गरेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले बताइन । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका तीन चिकित्सकको प्रत्यक्ष निगरानीमा आइसोलेशनमा बिरामीको उपचार गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाका अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहे पनि जटिल स्वास्थ्य अवस्थाका बिरामी पोखरामा उपचार गराइरहेका छन् ।