१२ साउन, काठमाडौं । सुनसरीको कोसी कटान क्षेत्र तनावग्रस्त बनेको छ । कोसी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलहरूमा समेत तोडफोड, लुटपाट र आगजनी गरेको छ ।
देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा अहिले प्रदर्शन भइरहेको छ ।
बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लौकही–कोसी ब्यारेज खण्डकेन्द्रित भएका प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै यातायात सञ्चालनमा अवरोध गरेका छन् ।
सप्तकोसी नदीले कटान गरेको क्षेत्रमा केहीबेरदेखि तनाव कायम रहेको छ ।
त्यहाँ उपेन्द्र मण्डल, अनिल महत्मान, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव, सरजुग यादव र रणकुमार श्रेष्ठ लगायतको पसलमा आगजनी तथा तोडफोड भएको बताइएको छ । अहिले त्यो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निषेधाज्ञाका बाबजुद पनि सुनसरीका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन् ।





