कृषि

कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने प्रयास

गण्डकी । कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ ।

आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको विरुवाका साथै १६ हजार डाले घाँसको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

कृषिका सम्भाव्यताको पहिचानका लागि गाउँपालिका क्षेत्रमा अघिल्ला वर्षमा माटो परीक्षणसमेत गराइसकेको जानकारी दिँदै उनले कृषिमार्फत स्वरोजगार अभिवृद्धि गराउने दीर्घकालीन लक्ष्य राखिएको बताए ।

सम्भाव्यताकै अध्ययनका क्रममा गाउँपालिकाको वडा नं ३ पत्थरमा कृषि विज्ञहरू डा अनिल सुवेदी र डा कुलराज चालिसेले पत्थरमाथि खेतीको अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले अनुसन्धान सफल भएमा सर्वसाधारणलाई यसतर्फ अभिप्रेरित गरिने बताए ।