पर्यटन/संस्कृति

पर्यटनलगायत क्षेत्रमा प्रवाह हुने कर्जाको समयावधि लम्ब्याइयो

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटनलगायत उद्योग व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह हुने कर्जाको समयावधि लम्ब्याएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले महामारीबाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह हुने कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म पुनःसंरचना तथा पुनःतालिकीकरण गरिने व्यवस्था मिलाएको हो ।

कोभिड महामारीका कारण सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायत व्यवसायको पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने मौद्रिक नीतिमा भनिएको छ । कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवालगायत वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको हकमा अन्तरराष्ट्रिय भ्रमण सहज भई यथेष्ट रुपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिएको छ । यस्तो रकममा थप हर्जना र प्यानल ब्याज नलाग्ने व्यवस्था मिलाइनेछ ।

महामारीका कारण अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले विसं २०७८ पुससम्म भुक्तानी गर्नुपर्ने सावा तथा ब्याज दायित्वको समयावधी एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तासम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

विपन्न वर्ग कर्जा दिइने

आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा वाणिज्य बैंकले प्रवाह गर्ने कृषि, पर्यटन र महिला उद्यमीले लिएको निश्चित सीमाको ऋणलाई विपन्न वर्गको कर्जामा रुपान्तरण गरिएको छ ।

मौद्रिक नीतिले विपन्न वर्ग कर्जामार्फत कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएकालाई व्यक्ति स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने रु १५ लाखसम्मको कर्जाको व्यवस्था मिलाइएको हो । ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने रु २५ लाखसम्म्को कर्जा र महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था मिलाइएको छ ।

मौद्रिक नीतिले पर्यटन आयमा निर्भर र खोपको उपलब्धता सहज नभएका मुलुकको आर्थिक पुनरुत्थानको गति अझै न्यून रहने देखाएको छ । महामारीको सङ्क्रमण कायमै रहेकाले पर्यटनलगायत अति प्रभावित क्षेत्रको पुनरुत्थानमा थप समय लाग्ने प्रक्षेपण गरिएको छ ।

हवाई सेवा प्रदायक संस्थाले तोकिएका कागजातको आधारमा अमेरिकी डलर २५ हजार वा सो बराबरसम्मको सेवा खरिदको लागि वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध हुने व्यवस्था मिलाइने मौद्रिक नीतिमा समेटिएको छ । महामारीबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्दै शीघ्र आर्थिक पुनरुत्थानका लागि एकातर्फ नियामकीय सहजीकरण र सहुलियत उपलब्धता गराउनुपर्ने आवश्यकता छ भने अर्कोतर्फ वित्तीय स्थायित्वका साथै वाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने प्रतिकूल प्रभावबारे पनि सजग रहनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति पर्यटनमैत्री रहेको सम्बन्धमा संक्षिप्त प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीले यसको व्यावहारिक कार्यान्वयनमा लगिनुपर्नेमा जोड दिए । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानका अध्यक्ष खोमबहादुर सुवेदीले मौद्रिक नीतिले पर्यटनका सबै क्षेत्रलाई समेटेको र सहुलियतका कार्यक्रमले पर्यटन क्षेत्रलाई गति दिन राहत पुग्ने बताए ।

होटल सङ्घ नेपाल र नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई सम्बोधन गरेका विषयको प्रभावकारी कार्यान्वयमा जोड दिएको छ ।