गण्डकी प्रदेश

पृथ्वीराजमार्ग तीन घण्टापछि दुईतर्फी सञ्चालनमा

२ कात्तिक, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला नजिक बसले माइक्रोलाई ठक्कर दिँदा अवरुद्ध भएको राजमार्ग करिब तीन घण्टापश्चात् सञ्चालनमा आएको छ ।

आज दिउँसो ३ः३० बजे दुई सवारी साधन एकापसमा ठक्कर खाँदा अवरुद्ध बनेको राजमार्ग साँझ ६ः३० मा सञ्चालनमा आएको हो । अवरुद्ध राजमार्ग स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा खुलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उक्त दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । पोखराबाट डुम्रेतर्फ जाँदै गरेको ग १ख ५९९५ नम्बरको बससँग विपरीत दिशामा गुडिरहेको ग १ ख ४८५५ नम्बरको बस ठोकिँदा माइक्रोमा सवार तीन जना घाइते भएका हुन् ।

माइक्रो बसका चालक दिवस खत्रीको दाहिने खुट्टा भाँचिएको छ । चालक खत्री र दिनेश पललाई पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पठाइएको छ भने रञ्जना लामिछानेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक र बस प्रहरी नियन्त्रणमा रहेका छन् ।