समाचार

विवादित बनेका प्रधानन्यायाधीश जबराले तोके ११ ईजलास

काठमाडौं १० कार्तिक । विवादपछि राजीनामाको दबाबमा आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज संवैधानिक इजलाससहितको पेशी तोकेका छन् । प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा आफूसहितको संवैधानिक इजलास तोकेका छन् । आजका लागि संवैधानिकसहित ११ इजलासमा कुल २७८ पेशी तोकेका छन् । यसअघि प्रधानन्यायाधीश राणाले सोमबार र मंगलबार आफ्नो लागि इजलास तोकेका थिएनन् ।

न्यायाधीशहरुले सोमबारदेखि नै अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका छन् । आज पनि न्यायाधीशहरु इजलास छल्नका लागि सामूहिक छलफलमा बस्ने तयारी गरेका छन् । पेशी तोकिए पनि न्यायाधीशहरु इजलासमा नजाने र नेपाल बारले बुधबारदेखि वकिलहरु बहसमा सहभागी नहुने घोषणा गर्दा सेवाग्रहीहरु भने मर्कामा परेका छन् ।

न्यायाधीशहरुले मंगलबार राणालाई भेटेर राजीनामाका लागि आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बताएपछि उनीहरु फेरि छलफलमा जुटेका थिए । जसका कारण इजलास प्रभावित भएको थियो ।

नेपाल बार, सर्वोच्च बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा मागेका छन्। तर राणाले नै आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएको भन्दै दबाब र प्रभावमा आएर राजीनामा नदिने बताएका छन्।