समाचार

नेपालमा आज थप ६ सय वढीमा कोरोना पुष्टिः आठको मृत्यु

काठमाडौं १० कार्तिक । नेपालमा आज देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय ८२ र एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा सात हजार एक सय ६७ जनाको पीसीआर परीक्षण र दुई हजार तीन सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १० हजार तीन सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार चार सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा आठ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ८० पुगेको छ ।