काठमाडौं ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगीत भएको छ । दसैँपछि पहिलोपटक बसेको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तैै एमाले सांसदले वेलमा पुगेर नाराबाजी गरेका थिए ।
पार्टी विभाजन गरेर एकीकृत समाजवादी निर्माणमा सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले गत भदौ २३ गतेदेखि निरन्तर रुपमा संसद बैठकमा अवरोध गर्दै आईरहेको छ । एमालेले आज पनि संसद बैठकमा अवरोध जारी राखेको हो ।
पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले अवरोध जारी राखेको हो । एमालेको निरन्तरको अवरोधका कारण संसदमा विधेयक पेश हुन सकेको छैन भने दैनिक जनजीविकाका महत्वपूर्ण विषयहरु उठ्न सकेको छैन ।
बैठकमा सभामुख अग्नि सापकोटाले अवरोधका कारण आम सरोकारका विषय प्रवेश गर्न नपाएको उल्लेख सदन खुलाउन आग्रह गरेका थिए । सभामुखले निरन्तरको अवरोधले सदनप्रति जनतामा पर्ने नकारात्मक प्रभावबारे विचार गर्न एमाले सांसदहरुलाई आग्रह गरेका थिए ।
एमाले अवरोधबीच भएको बैठकले केही प्रस्ताव भने पारित गरेको छ । लगत्तै अर्काे बैठक कात्तिक २९ गते बस्ने गरी समाभुख सापकोटाले बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।





