स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः थप ५९१ सङ्क्रमित, दुई जनाको निधन

११ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५९१ सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ३५५ जनामा कोरोना परीक्षण गर्दा ५९१ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २३६ पुगेको छ ।

पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८।५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ६६४ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार ७८९ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८२ जनाको निधन भएको छ ।

आज एक लाख एक हजार ४७५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ५५ हजार २१५ पहिलो मात्रा र ६८ लाख ६५ हजार ६६५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।