१३ कार्तिक, एजेन्सी । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान रिहा भएका छन् । उनी करिब एक महिना(२८ दिन) पछि जेलबाट छुटेको बीबीसी हिन्दीले जनाएको छ ।
उनी आज आर्थर रोड जेलबाट रिहा भएका हुन् । जेलबाहिर भीड जम्मा भए पनि उनी छुटिनासाथ हत्तपत्त गाडीमा लगिएको थियो । शाहरूख आफैं छोरालाई लिन पुगेको बीबीसीले जनाएको छ ।
गत असोज १७ गते मुम्बईको एनार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले मुम्बईको एउटा पानीजहाजमा छापा मारेर आर्यनलाई पक्राउ गरेको थियो ।
गत बिहीबार आर्यनका वकिलले अदालतमा गिरफ्तारीको क्रममा लागुपदार्थ बरामद नभएको र आर्यन विरुद्ध कुनै मुद्दा नपरेकोले उनलाई रिहा गर्नुपर्ने तर्क गरेका थिए । जबकि एनसीबीले अनुसन्धानका लागि हिरासत अवधि लम्ब्याउनु आवश्यक रहेको माग राख्दै आएको थियो ।





