१५ कार्तिक, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु भएको छ । छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक समारोहका बीच नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ’एक्स–टेक नेल २२” को शुभारम्भ भएको हो ।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितीमा शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदुतावासको प्यासिफिक अगमेन्टेशन टिम तथा रक्षा सहयोग कार्यालय (ओडीसी) प्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित सो तालिम २०७८ मंसिर १४ गतेसम्म संचालन हुनेछ । काठमाण्डौं, पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ ।
यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।






