पर्यटन/संस्कृति

नेपाल संवत् ११४२को स्वागत, म्हः (आत्म) पूजाको तयारी

२० कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुने नेपाल संवत््को नयाँ वर्षलाई स्वागत गरिएको छ । आजदेखि नेपाल संवत् ११४२ शुरु भएको छ ।

नेपाल संवत्को नयाँ वर्ष शुरु भएको खुसीयालीमा आज राजधानीका विभिन्न स्थानमा ¥याली एवम् सभाको आयोजना गरियो । नयाँ वर्षको स्वागत गर्न विशेषगरी नेवार समुदाय मौलिक भेषभुषामा सजिएर निस्किएका थिए । यस अवसरमा उपत्यकाका विभिन्न स्थानका साथै नेवार समुदायका बसोवार भएका शहरमा पनि मोटरसाइकल ¥याली गरिएको छ ।

यस संवत्लाई हाल विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०)मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । यसै आधारमा नेपाल संवत् मनाउन थालिएको विश्वास गरिन्छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धर बताउछन् ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत्् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको उनले सुनाए ।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा अहिले पनि छ ।

म्हः (आत्म) पूजाको तयारी
नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गरेपछि आजै नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज बेलुकी नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । पूजाको तयारी भएको जनाइएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । आत्मा नै सबैभन्दा महत्वपूर्ण हो भन्ने वैदिक मान्यतामा आधारित यो पर्व सबैले मनाउनुपर्ने भएपनि पछिल्लो समय नेवार समुदायले निरन्तरता दिएको उनको भनाइ छ ।