आर्थिक

“सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८” को सहमति पत्रमा हस्ताक्षर

२२ कार्तिक, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माको उपस्थितीमा “सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८” को सहमति पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय बाणिज्य बैकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बिमा संस्थानका प्रशासक र नेपाली सेनाको तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशकबीच भएको उक्त हस्ताक्षर पश्चात सहमति पत्र एकआपसमा आदान प्रदान भएको थियो ।

“सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा-२०७८” अनुरुप सैनिक सेवामा १० बर्ष पूरा गरेका र श्रीमान वा श्रीमती कसैको पनि नाममा घर नरहेका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर ९जम्मा ३।३२५० मा मुलुकभर निजी आवास निर्माण गर्न रु।२५ लाख सम्मको आवास कर्जा उपलब्ध गराईनेछ।

सकलदर्जाहरुले लामो समयदेखि प्रतिक्षा गरेको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात कल्याणकारी सेवा सुविधामा समेत वृद्धि हुनुका अतिरिक्त सैनिक सेवाप्रति आकर्षण समेत बढ्ने अपेक्षा गरिएको छ ।

साथै, नेपाली सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरुको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै विगतमा कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ भने अवकाश प्राप्त सकलदर्जाको लामो समयदेखि भइरहेको माग बमोजिम ६० बर्षमाथिकालाई निवृत्तिभरण रकममा उल्लेख्य वृद्धि गरी मासिक रु।१०००।०० पुर्‍याईएको छ ।

यसका अलावा सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासिय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको छ ।