आर्थिक

पार्टी काममा फर्किए नेता खनाल, गरे सचिव नियुक्ती

२२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनी प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा सहभागी भए । उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरे । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा शङ्कर खतिवडालाई मनोनयन गरेका छन् । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका छन् ।

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका हुन् ।

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएनन्। उक्त समय अवधि सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने भएका छन् । पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने भएका छन् । नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनी एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए तर पार्टी कार्यालय स्थापना भएपछि उनी पहिलोपटक कार्यालय आएका हुन् । उनी अब नियमित रुपमा कार्यालयमा रहने भएका छन् ।