साहित्य

आमा र देश

                                         कविता                                                                 डा सुरेन्द्र सिटौला
**********
शृष्टीको मानव चेतना भित्र
आमा र देशको नाता खोजे
देश छाड्न ललायित मनहरु लाई
इश्वर साछी राखेर
रुदै बसेकी आमा छोड्ने कारण सोधे
उत्तरको निरुत्तर भित्र
रहस्य गौण थियो
मन भित्र
जय र पराजयको कोलाहल थियो
आमा र देश बिर्सिए पनि
त्यस भित्र लुकेको
कुवेरी बैभवको
स्वप्निल सवाल थियो
उता देश !
देश हरायो भन्दै
देश खोज्न मानिस हरु
हुलका हुल बिदेशीएको देखेर
आफै नि:शब्द थियो
आफू हराएको समाचार
आफैले सुन्दा
देश नचिन्ने नागरिक देखेर
देश आफै स्तब्ध थियो
देश गुनासो गर्दै थियो !
अनिकालमा खेतबारी बेचेर
भिसा किन्ने बानी परेका धरती पुत्रहरु
उर्वरा मातृभुमिमा
किन हो कर्मको बीउ छर्दैनन
सपनाको जहाज चढेर
तृष्णाको बिदेशी मरुभूमिमा
मृगतृष्णाको स्वप्निल फुल फुलाउने मानिस हरु
मातृ-ऋण तिर्ने
आसामिको परिभाषा भित्र पर्दैनन
अनि
लिलाम बडाबडमा
देश बेचिनै लागे पनि
कर्मको धरौटी राख्ने काम गर्दैनन्
ठुलै भएर बिदेशीएका सन्तान हरुले
झुत्रे बस्त्र भिरेकी आमा लाई
चिन्दिन भने पछि
उनिहरु लाई आमा चिनाउन गाह्रो हुन्छ
आमा नचिन्ने शृष्टीमा
देश र मातृत्वको परिभाषा बुझाउन
याहा झनै साह्रो हुन्छ
यद्यपि,
आमा र आमा बस्ने देश लाई
कुनै पनि सन्तानको मृत्यु भन्दा
आफ्नै मृत्यु प्यारो हुन्छ