आर्थिक

सुनको मूल्य प्रतितोला ९४ हजार ६ सयः आज दुई सय बढ्यो

२८ कार्तिक, काठमाडौं । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २ सय ले उकालो लागेर ९४ हजार ६ सय कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला ९४ हजार ४ सय मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९ सय तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० ले उकालो लागेर एक हजार २९५ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ । सुनको कोटा बढाउन व्यवसायीको माग

महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिएका छन् ।

हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिएका छन् । हाल राष्ट्रबैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।