स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ४१६ जना संक्रमीत, २७० जना निको,थप १ को मृत्यु

३० कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय २ नमूनामध्ये पीसीआर विधिबाट ३६७ र एन्टिजेन विधिबाट ४९ गरी ४१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १७ हजार ३३३ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार १३६ जना कोरोना संक्रमित देखिएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ । मन्त्रालयका अनुसार सोमबार थप २७० जना कोरोनामुक्त भएका छन् ।

यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ । यस्तै, कोरोनाबाट थप १ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ७४ हजार ४५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।