आर्थिक

पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा

१ मंसिर, काठमाडौं । दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एण्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ आयोजना गरेको छ । नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारि एवं प्रवद्र्धनका विषयमा छलफल हुनेछ ।

पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धन अन्तर्गत हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ । कार्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ । उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ ।

पोखरा पर्यटन परिषदसँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुरेशसिंह बुडालले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँमा बिटुबी कार्यक्रम आयोजना गरिनेछ ।

‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण हुनेछ । नेपाल र बङ्गलादेशबीचको पर्यटन प्रवद्र्धन अन्तर्गत आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिने सिइओ बुडालले बताए । उक्त कार्यक्रमको हस्पिटालिटी पार्टनर केजिएच ग्रुप, एभरेष्ट होटल, होटल अलफट काठमाडौँ र र्याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोर्ट पार्टनर रहेको छ ।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक तथा हिमालय एयरलाइन्स पार्टनर रहेको छ । कोभिड-१९का कारण तत्काल ‘लङ हल रुट’ अन्तर्गतको गन्तव्यमा पर्यटन प्रवद्र्धन हुन कठिन देखिएपछि क्षेत्रीय पर्यटन प्रवद्र्धनको आवश्यकता रहेको बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताए ।

उनले कोभिड महामारीले थलिएको पर्यटन प्रवद्र्धनका लागि नयाँ सोच र अवधारणा अन्तर्गत क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिइएको उल्लेख गरेका छन् । मुलुकको पर्यटन प्रवद्र्धनका लागि आन्तरिकसँगै क्षेत्रीय पर्यटन प्रवद्र्ध्नलाई मुख्य जोड दिएको पाटा नेपालका सिइओ बुडालले बताएका छन् । उनले भने, “सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै क्षेत्रीय सहकार्य गर्ने हो ।” आन्तरिक पर्यटन मुलुकको पर्यटनको मेरुदण्ड हो ।

योसँगै अव विदेशी पर्यटकलाई पनि आकर्षक गर्ने बेला आइसकेको छ । अमेरिका, युरोपलगायत मुलुकबाट पर्यटक भित्र्याउन अझै पनि गाह्रै देखिन्छ । “अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार नै हो”, उनले भने । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उनले जानकारी दिएका छन् ।