स्वास्थ्य

नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू

२ मंसिर, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् । उनले सो कक्षको शुभारम्भ गर्दै मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज उपचार सेवा दिँदै आएको बताए ।

उनले टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बन्न सफल भएको र अहिले अस्पतालले तीन पिसीआर मेसिन सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । उनले भने“अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ ।” अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले हाललाई दुई डायलायसिस मेसिनबाट दैनिक बिरामीको उपचार गरिरहेको जानकारी दिँदै रोटरी क्लबको सहयोगमा थप चार मेसिनबाट सेवा सुरु हुन लागेको बताएका छन् । अस्पतालले हाल २५ श्ययाको एचडीयू र १७ वर्षमाथि उमेरका बिरामीका लागि भेन्टिलेटरसहितको १० शय्याको आइसीयू सञ्चालन गरिरहेको छ । कूल १०२ शय्यामा सञ्चालित यस अस्पतालले नर्सिङ कलेज सञ्चालनको तयारीसमेत गरेको छ भने अस्पतालमा विभिन्न सेवा विस्तार गर्दै लगेको जनाइएको छ ।