समाचार

ओलीको दाबीः महाधिवेशनमा नेपाल भरका सवारीले बोक्न सक्ने जति मान्छे आउछन्

७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालभरका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताएका छन् ।

काठमाडौंमा आज सम्पादकहरूसँग अन्तरक्रियामा अध्यक्ष ओलीले महाधिवेशनमा १०\२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताएका हुन् ।

कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताएका छन् । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए ।

दशौं महाधिवेशनले मुख्य रुपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो । यस्तै, अध्यक्ष ओलीले महाधिवेशनमा २ सत्र हुने भन्दै बन्द सत्रमा नेतृत्व चयनको काम हुने बताएका छन् । विधान महाधिवेशनबाट देश बनाउने नीति पारित गरेका उल्लेख गर्दै अध्यक्ष ओलीले ती नीति कार्यन्वयनका लाई कस्तो नेतृत्व निर्माण गर्ने भन्ने कुरामा अर्को सत्र केन्द्रित हुने ओलीको भनाई छ ।