समाचार

रक्तचन्दनको ३३ लिटर तेल सहित १० जना प्रहरी नियन्त्रणमा

१० मंसिर, काठमाडौं । रक्तचन्दनको ३३ लिटर तेल सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो काठमाडौंको तीलगंगाबाट ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी–९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका–६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायतका रहेका छन् ।

प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताएका छन् । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको खापुङले बताएका छन् ।

रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ । त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।