समाचार

हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा

१० मंसिर, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै काम सकेरभित्र साजसजावटका काममात्र बाँकी छ ।

अड्डाले नै ठेक्का गरी रु दुई करोड ५८ लाख ४५ हजार ६२३ को लागतमा कक्ष पुनःनिर्माण भइरहेको इञ्जिनीयर रोशन डङ्गोलले जानकारी दिनुभयो । विसं २०७७ जेठ ९ गते पुनःनिर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनःनिर्माणको अवधि बाँकी रहेको उनले सुनाए । अवधिअगावै काम सम्पन्न हुने जनाइएको छ । पचली भैरव एण्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनःनिर्माण काम गरिरहेको छ ।

कक्षसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट कान्तिपुर विजयका लागि हिँड्नुअघि ल्याएको कँडेल भगवतीको मन्दिर पनि रहेको छ । कान्तिपुर विजय भएमा भगवतीलाई यहीँ स्थापना गर्ने वाचासहित पृथ्वीनारायण शाहले भगवतीलाई ल्याएको इतिहासविद्को भनाइ रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका सङ्ग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिएका छन् ।

भगवतीलाई अहिले पनि चैत महिनामा जात्राका लागि नुवाकोट लैजाने परम्परा छ । पहिले पैदल नै भगवतीको प्रतिमूर्ति जात्राका लागि नुवाकोट लैजाने गरिएकामा अहिले सवारीमार्फत लगिन्छ । नुवाकोटबाट ल्याएर स्थापना गरिएकाले वर्षमा एकपटक चैतमा जात्राका लागि देवीलाई मूल थलोमा लैजाने गरिएको हो ।