समाचार

कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नहुने भन्दै अध्यक्षका लागि भोट माग्दै रावल

११ मंसिर, काठमाडौं । कुनैपनि हालतमा पछि नहट्ने अठोट लिएका अध्यक्षका दाबेदार डा.भीम रावलले भोट माग्न थालेका छन् ।आज बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् । 

नेकपा एमालेमा १० महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला नेता रावलले भने भोट माग्न थालेका हुन् । उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेका हुन् । उनले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गरिरहेका छन् ।

यसअघि शुक्रबार साँझ पनि आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताएका रावलले आज दिउँसोसम्म पनि आफु अध्यक्ष पदको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ । वरिष्ठ उपाध्यक्ष बनाउने गरी अध्यक्ष ओलीले गरेको प्रस्तावलाई अस्वीकार गरेर अध्यक्षमै प्रतिस्पर्धा गर्ने रावलले अडान लिएका छन् । रावलले कुनैपनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।