११ मंसिर, काठमाडौं । नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNIFIL मिशन लेवनानमा तैनाथ बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको हो । UNIFIL का सेक्टर ईष्ट कमाण्डर बृगेडियर जनरल ज्याभियर मुर लालागुनाको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको हो ।

नेपालका लागि लेवनानी मानार्थ अवैतनिक दूत (Honorable Consul General), सिनियर नेशनल अधिकृत, UNIFIL मिशनमा तैनाथ अन्य कन्टिनजेन्ट कमाण्डर, स्थानिय नगरपालिकाका मेयरलगायतको उपस्थिती रहेको उक्त समारोहमा प्रमुख अतिथिले आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदानको उच्च कदर गर्नुको साथै नेपाली शान्ति सैनिकहरुको व्यवसायीक क्षमताको खुलेर प्रशंसा गरेका थिए ।

साथै, सोही अवसरमा नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी क्षेत्रमा सैनिक नागरिक सम्बन्ध विस्तारको लागि गरेका विभिन्न सिमिक गतिविधिहरुको उच्च मूल्याङ्कन गर्दै मेश ई जावेल नगरपालिका प्रमुखले श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फाका गणपतिलाई प्रसंशा पत्र समेत हस्तान्तरण गरेका छ ।






