समाचार

ओलीको हातमा ३ सय १ केन्द्रीय सदस्यको सुचीः अन्तिम रुप दिई बन्दसत्रमा प्रस्तुत हुने

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई ३ सय १ केन्द्रीय सदस्यको सुची दिएका छन् । अध्यक्ष ओलीले संगठन विभाग प्रमुख पौडेलका साथै नेताहरु पोखरेल, गुरुङ र ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन जिम्मा दिएकोमा उनिहरुले सुची तयार पारेर बुझाएका हुन् । अब ओलीले उक्त सुचीलाई अन्तिमरुप दिई बन्द सत्रमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सुचीमा वर्तमान केन्द्रीय सदस्यलाई निरन्तरता दिनुका साथै अन्य नाम कलस्टर मिलाईएको छ ।

चार नेताहरुले आज दिउँसो पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका हुन् । एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।