समाचार

भिजिबिलिटी कम हुँदा विमानस्थलमा हवाई उडान-अवतरण प्रभावित

१८ मंसिर, काठमाडौं । पर्याप्त भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।

मौसममा आएको बदलीसँगै भिजिबिलिटी बढीमा ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि १६ सय मिटर चाहिने प्राविधिकहरू बताउँछन् ।

भिजिबिलिटी नभएपछि बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन नसकेको उनले बताए । बिहान ९ः३० सम्म सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको हो ।

बंगालको खाडीमा आएको चक्रवात ‘जवाद’ को असर नेपालमा पनि परेपछि मौसमी प्रणालीमा असर गरेको छ ।