२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सकिएको छ । आज बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठक सकाएर केन्द्रीय सदस्यहरु सभापतिका आकांक्षी शेखर कोईराला र प्रकाशमान सिंहलाई भेट्न निस्कीएका छन् ।
साथै केन्द्रीय सदस्यहरुको बैठकले वरिष्ठ नेता पौडेललाई नै सझा उम्मेदवार बनाउनु पर्ने निर्णय समेत गरेका छन् । सभापतिको साझा उम्मेदवार पौडेललाई बनाउने निर्णय सहित उनिहरु कोईराला र सिंहलाई मनाउन निस्कीएका हुन् ।
अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायतका नेताहरू शेखर कोइरालालाई भेट्न गएका छन् । उनिहरुले सभापतिको उम्मेदवार पौडेललाई बनाउने र अन्य आकांक्षीलाई उपसभापति, महामन्त्री लगाएतका पदाधीकारीका व्यवस्थापन गर्न सुझाव दिएका छन् ।
मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए । कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले पनि प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । तर प्रकाशमानले भने सभापतिको दाबेदारी नछाड्ने बताएका छन् ।





