२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह समेत गरेका छन् । उनले भने ‘राजाले नयाँ पार्टी खोले हुन्छ, व्यापार\व्यवसाय गरे हुन्छ ,अब राजतन्त्रको कुनै सम्भावना छैन ।
उनले राजनीतिक दलले नै सम्बृद्धिको यात्रा अगाडि बढाउने भन्दै पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्ने बताएका छन् । उनले प्रतिगामी तत्त्वलाई फेरि शीर उठाउने दुस्साहस नगर्नसमेत चेतावनी दिएका छन् । उनले दोस्रो जनान्दोलनमा कांग्रेससँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गरेका छन् । उनले आफू १६ वर्षअगाडिको कांग्रेस महाधिवेशन स्मरण गर्दै अब नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । नेता नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको समेत बताएा छन् ।
राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिएका छन् । एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरूपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप समेत लगाएका छन् ।





