राजनीति

सिटौलाको उम्मेद्वारहरुलाई आह्वानः पदका लागि मात्रै कांग्रेसमा नलाग्नुस्

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले कांग्रेसमा लाग्नेहरुले म भन्दा पनि हाम्रो भनेर सोच्नुपर्ने बताएका छन् । कांग्रेसको आजदेखी सुरु भएको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेस आफ्ना लागि भन्दापनि देश र जनताका लागि सोच्ने पार्टी भएको बताएका छन् ।

उनले सम्बोधनका क्रममा उम्मेदवारहरुलाई पदका लागि मात्रै कांग्रेसमा नलाग्न समेत आह्वान गरेका छन् । साथै उनले १३ औं महाधिवेशनबाट १४ सम्म आईपुग्दा कांग्रेसमा धेरै उतार-चढाब सबैले देखेको र भोगेको भन्दै आगामी दिनमा त्यसलाई कसरी सुधार गरेर लैजान सकिन्छ भन्नेबारेमा सोच्नुपर्नेमा समेत जोड दिएका छन् ।

सिटौलाले अहिले लोकतन्त्र, लोकतान्त्रीक व्यवस्था र संविधानमाथि चुनौति आएको समेत बताएका छन् । साथै सिटौलाले सरकार विगतमा जस्तो राम्रोसंग चल्न नसकेको समेत गुनासो गरेका छन् । उनले कम्युनिष्ट पार्टी भित्रको किचलोले देशलाई तहसनहस बनाएको समेत बताएका छन् । उनले वर्तमान सरकार निर्वाचनसम्म पुगोस भन्ने कामना समेत गरेका छन् ।

उनले आगामी निर्वाचन स्वतन्त्र र धाँधलिरहित होस भन्ने चाहेको बताएका छन् । नेपाली कांग्रेसले १४ औं महाधिवेशन पछि आफैलाई सुधारेर जनतासंग जोड्नुपर्नेमा जोड दिँदै जनताले भरोषा गर्न योग्य बनाउनु पर्ने बताएका छन् । उनले सबै राजनीतिक दललाई डोर्याउने, स–साना धारलाई लोकतान्त्रीक बाटोमा हिँडाउने जिम्मेवारी कांग्रेसको भएको समेत बताएका छन् ।