सुदूरपश्चिम

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

२५ मंसिर, सुदुरपश्चिम । अशक्त अपाङ्गता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताएका छन् । शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए ।

“सम्बन्धित पालिकासँग समन्वय गरी अशक्त ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरेका छौँ,” हुडकेले भने, “पालिकाको सहयोगमा तथ्याङ्क लिने कार्यसँगै स्वास्थ्यकर्मीको व्यवस्था र खोपको व्यवस्था गरिएको छ ।” खोप लगाउने व्यक्तिको पहिचान गरी घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।

अशक्त ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति खोप केन्द्रसम्म पुग्न सक्दैनन् । खोपबाट कोही पनि नछुटून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरदैलोमै पुर्याउने कार्यका लागि सवारीसाधनको समेत व्यवस्था मिलाएका छौँ ।” पाँच पालिकाका अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने कार्य गरिसकिएको उल्लेख गर्दै उनले बाँकी भीमदत्त, बेदकोट तथा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको बताएका छन् ।

अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले अशक्त ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी तथ्याङ्क उपलब्ध गराउन अहम् भूमिका खेलेको उनको भनाइ छ । प्रतिपालिकामा दुई सयजना अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको अधिकृत हुडकेले बताए । उनका अनुसार अभियानमा प्राविधिक सहयोग सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले उपलब्ध गराएको छ ।