२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले सत्तामा बसिरहन सभापति देउवाले माओवादी केन्द्रसंग सहमती गरेको बताएका छन् । आज केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिप्रति कटाक्ष गरेका छन् ।
माओवादीसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा दाहालको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा दाहाल पुत्रीलाई मेयरमा जिताउन देउवाले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन भएको उनको भनाई छ । साथै देउवाको उक्त कार्य पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा भएको नेता सिंहले बताएका छन् ।
उनले पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट देउवा एक्लैले ठूलो आत्मघाती निर्णय गरेको सिंहको आरोप लगाएका छन् । त्यस्तै सिंहले पार्टीका नेता र सभापति पार्टीको सिद्धान्त र आदर्शविपरीत काम गरेको पनि आरोप लगाएका छन् ।





