समाचार

दोस्रो चरणमा प्रकाशमान, शेखर हामी तिनै जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छाैंः निधि

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि सभापति नजित्ने बताएका छन् ।

आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याउने दाबी गरेका हुन् । दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले शेखर कोइरालालाई सघाउने दाबी उनको थियो ।

साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले सर्वसम्मत सभापति उम्मेदवार बनाउन आग्रह गरेको पनि बताएका थिए । उनले अझै केही दिन निर्वाचन कार्यक्रम पर सारेर पौडेललाई सर्वसम्मत सभापति बनाउन सकिने तर्क गरेका थिए । निधिले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् ।