समाचार

तीन महिनामा ८५२ बस्तुका नमूना सङ्कलनः राजमार्गका होटलको दुई हजार पटक अनुगमन

२७ मंसिर, काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८\७९ को पहिलो त्रैमासिकमा (तीन) महिनामा साउन १ गतेदेखि असोज मसान्तसम्म० ८५२ नमूना सङ्कलन गरेको छ ।

पहिलो तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार उक्त बस्तुको नमूना सङ्कलन गरिएको विभागले जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार तीन महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा २७ मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ ।

विभागले दायर गरेका मुद्दामध्येमा दूध तथा दुग्ध पदार्थका नौ, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयासस, तेल र दानाका एक\एक रहेका छन् ।

उक्त मुद्दामध्येमा ११ दूषितका, नौ मुद्दा न्यून गुणस्तरका र छ मुद्दा लेवललगायतका विवरण नमिलेका मुद्दा दर्ता भएका जनाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था छ ।

विभागले तीन महिनाको अवधिमा देशभरका आठ कार्यालय र २२ डिभिजन कार्यालय गरी ४३ कार्यालयबाट नियमित रुपमा बजार अनुगमन गर्दै आएको जनाएको छ । ४३ कार्यालयले तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ८५२ नमूना सङ्कलन गरेका थिए ।

उक्त सङ्कलित नमूनामध्ये खाद्यान्न÷दलहनजन्यका १३१, तेल तथा ध्यूजन्यका ९४, फल तथा सागपातजन्य पदार्थ ७४, दाना पदार्थका ४५, मसलाका ४०, चिया कफिका २८, दूध तथा दुग्धपदार्थका २१, प्रशोधित पिउने पानीका ४० र कन्फेक्सनरिका १६ नमूना रहेका थिए । परीक्षण गरिएका नमूनामध्ये ३६ नमूना मात्रै प्रतिकूल रहेको प्रवक्ता महर्जनले जानकारी दिनएका छन् ।

उनका अनुसार प्रतिकूल रहेकामा खाद्यान्नका आठ नमूना, प्रशोधित पिउने पानीका सात, दूध तथा दुग्ध पदार्थका चार, दानापदार्थका चार नमूनालगायतका अन्य खाद्य पदार्थ रहेका छन् ।

दाना उद्योग तथा राजमार्गका होटलको दुई हजार पटक अनुगमन

विभागले तीन महिनाको अवधिमा खाद्य\दाना उद्योग, होटल रेष्टुरेन्ट, राजमार्गका होटल अनुमगन तथा उजुरीमा तत्काल सम्बोधन टोलमार्फत् दुई हजार ३६ पटक अनुगमन गरी कारबाही गरिएको जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार विभाग तथा मातहतका कार्यालयबाट ४२ होटल, रेष्टुरेन्टस्तरीकरण गरिएकामा दुई प्रतिशतले अत्ति उत्तमस्तर पाउन सफल भएको छ भने सातले उत्तम, २३ ले सन्तोषजनक, सातले सामान्यस्तर र तीन होटल तथा रेष्टुरेन्ट स्तरीकरणमा नपरेको पाइएको छ ।

विभागले तीन महिनाको अवधिमा १२ विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमूना प्राप्त भई जाँच विश्लेषण गरी नियमन गरिएको तथ्याङ्कमा उल्लेख छ ।