समाचार

देउवाले पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छः गगन थापा

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महामन्त्रीका उम्मेद्वार गगन कुमार थापाले सभापति देउवाले पार्टीलाई थिति र विधिमा चलाउछन् भन्ने आफ्नो अपेक्षा रहेको बताएका छन् ।

सभापतिमा दोस्रो पटक निर्वाचित भएकोमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै थापाले समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने पनि बताएका छन् ।

उनले भनेका छन्, आदरणीय शेर बहादुर देउवा ज्यू, पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई १ आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका देउवा पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् । सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो  ।