बाग्मती

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर, २९ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।

अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । रिसालले भने, “टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।”

उहाँले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको जानकारी दिएका छन् । उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।